कर्णाली राजमार्गमा यात्रा गर्नेहरु सास्थी भोग्दै, स्तरउन्नतीका लागि श्रोतको खोजीमा सरकार

सुर्खेत ।  कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्षेनी राजमार्गमा यात्रा गर्ने कर्णालीवासी सास्ती बेहोर्दै आएका छन् ।
राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले बताएका छन् ।
कर्णाली राजमार्गमा कर्णाली राजमार्गको स्तरोन्नति नहुदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीहरुलाई समेत उत्तिकै पिरोल्ने गरेको छ ।
सडक सञ्चालनमा आएको लामो समय भइ सक्दा पनि कर्णाली राजमार्गमा ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको कर्णालीवासीहरुले बताएका छन् ।
सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालिकोटको पचालझरनाका स्थानीय कटक बहादुर बम बताउनुहुन्छ । हामी बर्षौदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौ । उहाले भन्नुभयो, “कहिले धुलाम्मे कहिले हिलाम्मे, दुर्घटनाको जोखिम पनि उस्तै छ । हामी कतिदिनसम्म जोखिमको यात्रा गर्ने ।”
कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । तर वर्षौ देखि राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले बर्षेनि सास्ती खेप्नु परेको छ ।
सुर्खेतको विरेन्द्रनगर देखि दैलेख हुँदै कालिकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ । भने राजमार्गअन्तर्गत दही खोला देखि जुम्ला खलंगासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका कामहरू हुँदै आएका छन् । तर राजमार्ग सुधार हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईले भन्नुभयो, “ठाउँ ठाउँमा हामीले स्तरउन्नतीको काम गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो हुथीले गर्न सक्ने काम त गरेका छौँ ।”
यता, संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात सह–सचिब एवम (प्रवक्ता ) मन्त्रालयका शिव प्रसाद नेपालले स्रोत नहुदा कर्णाली राजमार्ग स्तर उन्नतीको काम अगाडि बढ्न नसकेको बताउनुभयो । अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणको लागि श्रोतको खोजीमा छ, उहाले भन्नुभयो ।