६ महिनादेखि मुगुका बाढी प्रभावित पालमुनी

मुगु । मुगुका बाढीपहिरो पीडित परिवारहरू ६ महिनासम्म पनि पुर्नवासको पर्खाइमा बस्नु परेको छ ।
बाढीपहिरोले विस्थापित बनाएको ६ महिनासम्म पनि सरकारले व्यवस्थापन नगर्दा उनीहरू खुला चौरमा त्रिपाल टांगेर बस्न बाध्य भएका हुन ।
खत्याड गाउँपालिकाका रामबहादुर रावतले पहिरोले घर भत्काएपछि बस्ने घर र अन्न पनि नभएको गुनासो गर्नुभयो ।
गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षासँगै आएको बाढीपहिरोले जिल्लाभरि २ सय ३६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने १ सय ८८ परिवारको घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी ३ सय ९९ परिवार बाढीपहिरोको उच्च जोखिममा छन् ।
छायानाथ रारा नगरपालिकास्थित झ्यारी गाउँका बाढीपीडित दलसिंह रावलले फेरि बर्खा सुरु हुन थालिसकेको भन्दै काँहा गएर बस्ने टुङ्गो नभएको बताउनुभयो ।
रावलसँगै झ्यारी गाउँका १ सय ४१ बाढी पीडितहरू अहिले पनि सुरक्षित घरमा बस्न पाएका छैनन् । उनिहरुले सरकारले आफुहरुलाई बेवास्था गरेको गुनासो गरेका छन ।