कांग्रेसले बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाण्डौ । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँले २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताउनुभयो ।
सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकले अघिल्लो कार्यसम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनका लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्ने गरी पारित गर्ने निर्णय गरेको छ ।