सेवालाई थप प्रभावकारी बनाउन वीरेन्द्रनगर १० का ५ प्रतिबद्धता


सुर्खेत,१७ असार ।
वीरेन्द्रनगर नगरपालिका १० नं. वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि विभिन्न पाँच बुदे प्रतिबद्धता गरिएको छ ।
आज जागरण एफ.एम.को सहजीकरणमा वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुका जिज्ञासा तथा सुझावको आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पाँच बुँदे प्रतिबद्धता गरिएको हो । युवाहरुलाई रोजगारी सिर्जना गर्ने, खेलकुद लगायतका सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिई लागू औषध दूव्र्यसनी न्यूनीकरण गर्ने, लक्षित वर्ग कार्यक्रमलाई वितरणमुखी भन्दा सीपमूलक तथा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिने, बाल विवाह न्यूनीकरण गर्ने, बालविकास देखि नै विद्यार्थीहरुमा सिर्जनशिलता विकास गर्न विद्यालयमा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै टोल विकास संस्थाहरुलाई सक्रिय वनाउन निष्क्रिय भएका ठाउमा पुर्नगठन गर्ने र वडा भित्रको सरसफाई व्यवस्थापनलाई प्रभावकारी बनाउने वडाको प्रतिबद्धता रहेको छ । सहभागीहरुले वडाभित्र खानेपानी, कच्ची सडक, लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, फोहोर व्यवस्थापन कार्य प्रभावरी बनाउनुपर्ने, वडाभित्र रहेका विभिन्न जाति समुदायका साँस्कृतिक विविधता संरक्षण गर्नुपर्ने, युवाहरुलाई रोजगारी सिर्जना गर्नुपर्ने लगायतका विषय वडाबाट भएका पहलका बारेमा जिज्ञासा एवं सुझाव राखेका थिए ।

सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै वडा अध्यक्ष डिलबहादुर रखालले वडावासीको सेवाका लागि इमान्दारितापूर्वक खटिरहेको बताउँदै आगामी दिनमा सेवाग्राहीका सुझाव ग्रहण गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै टोलहरुमा वडाका कार्यक्रमबाट सम्बोधन गरिएको उल्लेख गर्दै विकास निर्माणमा सबै भन्दा बढी समस्या भएका ठाउँलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । वडा सचिव मनोज पौडेलले वडाले चालु आर्थिक बर्षमा सञ्चालन गरेको योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, वडा सदस्य मनोहरलाल आचार्य, वीरबहादुर वस्नेत र सन्ध्या वस्नेत जवाफदेही वक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो ।