भूकम्पबाट घाइतेहरुकाे हेलिकप्ट उद्धार चल्दै

जागरण संवाददाता

सुर्खेत १८ कात्तिक ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर हिजो राति गएको भुकम्पमा परि १ सय २३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको आज विहान ९ बजेसम्मको विवरण अनुसार जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३१ जनाको मृत्यु भएको हो । यस्तै जाजरकोटमा ५५ रुकुम पश्चिममा ६० र दैलेखमा २ जना गरी ११७ जना घाइते भएको विवरण प्राप्त भएको छ । घाइतेहरुमध्य १५ जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याएर उपचार भैरहेको छ । रुकुमको आठविसकोट नगरपालिकाका ८ जनालाई आज विहान हेलिकप्टरबाट ल्याइएको हो भने बाँकी जाजरकोटका सात जनाको स्थलमार्ग भएर एम्बुलेन्सबाट ल्याइएको हो ।
घाइतेहरुको उद्धारका तथा राहतका लागि स्थानीय सरकार, कर्णाली प्रदेश सरकार र नेपाल सरकारले आ–आफ्नो ठाउँबाट प्रयास गरिरहेका छन् । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल सेनाको हेलिकप्टरबाट जाजरकोट र रुकुम पुग्नुभएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का सुर्खेत विमानस्थलबाट सुरक्षा निकाय लगायतसंग राहत उद्धारका लागि समन्वय गरिरहनुभएको छ ।
प्रभावित क्षेत्रमा उद्धारका लागि सम्पूर्ण तयारी भैरहेको उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि सेनाको हेलिकप्टरबाट जाजरकोट पुग्नुभएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको संयोजकत्वमा समिति बनाएर राहत उद्धारमा खटिएको छ ।
बाइट
शल्यक्रियासहितको उपचार सेवाका लागि सुर्खेतबाट चार जना डाक्टरहरुको टोली जाजरकोट अस्पताल पुगेको छ । सेनाको हेलिकप्टर र सुर्खेत हवाइजहाँजबाट जाजरकोट र रुकुम पश्चिमका लागि अत्यावश्यक सामग्री पु¥याउने, घाइतेहरुको उद्धारगरी ल्याउने काम भैरहेको छ ।