कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

फागुन २२, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी तीनजना मन्त्रीहरूले राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई पदबाट राजीनामा बुझाएको जानकारी दिएका हुन् ।
नेकपा माओवादीनेतृत्व गरेको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्री खड्गप्रसाद पोख्रेल, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र उद्योग वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीले राजीनामा दिएका हुन् ।
उनीहरू मंगलबार सामूहिक रुपमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारमा गठबन्धन परिवर्तन भएपछि पार्टीको निर्देशन अनुसार आफूहरू पदबाट राजीनामा दिएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री सिंहले आफूहरुले सरकारमा रहँदा कर्णालीको समग्र विकास, निर्माण र जनपक्षीय काम गर्नका लागि उल्लेख्य काम गरेको बताउनुभयो ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्रीको जिम्मेबारीमा रहेका खड्गप्रसाद पोख्रेलले भने पार्टी सरकारबाट बाहिरिए पनि प्रदेश सभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले कर्णालीको विकास र कर्णालीवासीको हितमा हुने कामहरूमा आफूहरूले सरकारलाई साथ दिने बताउनुभयो ।
आजै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री बर्खास्त भएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
संघीय सरकारमा गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा केन्द्रको बाछिटाको असर परेको हो । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले,रास्वपा र जसपालगायत दलसँग मिलेर नयाँ गठबन्धन बनाएको छ ।