कर्णाली प्रदेश सरकारबाट बाहिरियो नेपाली काँग्रेस, नयाँ सरकार बनाउन एमाले माओवादीकाे स्पष्ट बहुमत


सुर्खेत, २२ फागुन ।
कर्णाली सरकारमा नेपाली काँग्रेसबाट सहभागी मन्त्रीहरुले राजिनामा दिएका छन् ।
केन्द्रमा फेरिएको सत्ता गठबन्धन अनुरुप कर्णाली प्रदेश सरकारमा काँग्रेसका तीन जना मन्त्रीले आज राजिनामा दिएका हुन् । नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको सरकारमा कांग्रेसबाट आर्थिक मामिला मन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री हुनुहुन्थ्यो ।
फेरिएको गठबन्धनलाई मार्ग प्रशस्त गर्न आफूहरुले राजीनामा दिएको आर्थिक मामिला मन्त्रीका रुपमा सहभागी सांसद बेदराज सिंहले बताउनुभयो ।
काँग्रेसबाट तीनै जना मन्त्री गत वैशाखमा सरकारमा सहभागी भएका थिए । दश महिना १५ दिनपछि उनीहरु सरकारबाट बाहिरिएका हुन् । मन्त्री फिर्ता भएसंगै काँग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।
नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शर्मा भने सत्ता जोगिनेमा ढुक्क हुनुहुन्छ । केन्द्रीय सत्ता गठबन्धन अनुरुप कर्णाली प्रदेशमा माओवादी र एमालेको मिलेर सरकार बन्नाउन स्पष्ट बहुमत रहेको छ । ४० सदस्य कर्णाली प्रदेशसभामा माओवादीका १३ तथा एमालेका १० सांसद छन् । तर कर्णाली प्रदेश सरकारमा एमालेको सहभागिता बारे भने छलफल भइनसकेको नेकपा एमाले कर्णाली प्रदेशसभाका संसदीय दलका सचेतक टेकराज पछाइले बताउनुभएको छ ।
केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपा एमालेसहितको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यसको प्रभाव परेको हो ।