सुर्खेत १५ माघ ।
खानेपानी तथा सरसफाई सम्बन्धीका संरचनामा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन्।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले खानेपानी तथा सरसफाईसँग सम्बन्धित संस्था संरचनामा महिला सहभागिता ५० प्रतिशत अनिवार्य गर्न सुझाव दिएका हुन् । पानी पंधेरो गर्ने महिला तर उपभोक्ता समिति र संस्थाहरुमा पुरुषको नेतृत्व हुने गरेको भन्दै कार्यक्रममा सहभागीहरुले यस्ता संरचनामा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने उल्लेख गरेका थिए ।
फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले तत्काल खानेपानी सम्बन्धी ऐन ल्याउन कर्णाली प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले फेडवासानको केन्द्रीय समितिमा ५० प्रतिशत महिला सहभागिताको अभ्यास गरेको उल्लेख गर्दै प्रदेश सरकारले ल्याउने ऐनमा लैंगिक सहभागिताको उचित व्यवस्था गर्न सुझाव दिनुभयो ।
यस्तै विगतमा सुरु गरिएका खानेपानी आयोजनाहरु अलपत्रमा रहेको भन्दै ती आयोजना समयमै सम्पन्न गर्नुपर्ने अध्यक्ष अर्यालले आग्रह गर्नुभयो । लिफटिङ्ग खानेपानी आयोजनमा विद्युत महशुल छुट तथा अनुदानको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभएको छ ।
अन्तरक्रियामा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले खानेपानी ऐन ल्याउनका लागि पहल गर्ने बताउनुभयो । विगतमा सुरु गरिएका आयोजनाहरुको विवरण संकलन गर्नुका साथै पूर्णता दिनका लागि मातहतका कार्यलयलाई निर्देशन दिएको मन्त्री बुढाले बताउनुभयो । उहाँले महिला सहभागिताका लागि भाषणमा मात्र नभएर व्यवहारमै पुरुषहरुबाट सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
फेडवासनका निवर्तमान राष्ट्रिय उपाध्यक्ष कुलमणि देवकोटाले खानेपानी तथा सरसफाई सम्बन्धी नागरिकको अधिकार संविधानमै सुनिश्चित गरिएपनि व्यवहारमा उचित कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । संविधानमा खानेपानी सरसफाई सम्बन्धी तीनै तहका सरकारको साझा अधिकारको सुचीमा रहेकोले कार्यान्वयनका लागि समन्वय गरेर काम गर्नुपर्ने देवकोटाको भनाई छ । अन्तरक्रियामा सहभागी फेडवासन सुर्खेतका अध्यक्ष पूर्णप्रसाद पौडेलले खानेपानी सरसफाई तथा स्वच्छताका क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक ऐन नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका विषय प्रदेश स्तरमा अन्तरक्रिया गरिरहेको फेडवासनले सातवटै प्रदेशमा कार्यक्रम गर्नेछ । हालसम्म गण्डकी,सुदुरपश्चिम र कर्णाली प्रदेशमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको र सबै प्रदेशमा सकिएपछि राष्ट्रिय स्तरमा अन्तरक्रिया आयोजनागरी संघीय सरकारलाई सुझाव पेश गर्ने फेडवासानले जनाएको छ ।