सुर्खेत, ९ जेठ ।
सुर्खेतमा स्थापना गरिएको फिस्टुला उपचार केन्द्रबाट पछिललो ६ बर्षयता २३४ जनाले सेवा लिएका छन् ।
२०७४ यता प्रदेश अस्पताल सुर्खेत तथा साईनिङ्ग अस्पताल आई एन एफ नेपाल सुर्खेतको सहकार्यमा प्रदेश अस्पताल सुर्खेतबाट प्रसव फिस्टुलाको निशुल्क सेवा दिँदै आइएको छ । सन २००९ देखी तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र आई एन एफ नेपाल सुर्खेतको सहकार्यमा वार्षिक शिबिरको आयोजना गरि फिस्टुलाबाट पिडित महिला बिरामीहरुका लागि निशुल्क सेवा प्रदान गर्न थालिएको हो । शिविरबाट सन् २०१८ सम्म २४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको थियो भने फिस्टुला उपचार केन्द्रबाट २३२ गरि जम्मा ४७७ जना फिस्टुलाबाट पिडित बिरामीहरुको शल्यक्रिया गरिएको आइएन एफ सुर्खेतले जनाएको छ ।
सुर्खेतमा रहेको फिस्टुवा उपचार केन्द्रबाट सुदुरपश्चिम र लुम्विनी प्रदेशका विरामी साथै छिटफुट अन्य प्रदेश र छिमेकी मूलुक भारतीय नागरिकले समेत सेवा लिइरहेको उपचार केन्द्रमा कार्यरत डा सुवेच्छा देवाले जानकारी दिनुभयो । उपचारमा आउने बिरामीका लागि निशुल्क उपचार दिनुका साथै आउने जाने गाडी भाडा र उपचार अवधिभर बिरामीका कुरुवा र बिरामीलाई खाना र वस्नका लागि पनि सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।
आई एन एफ नेपाल सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा १७ शैय्याको फिस्टुला उपचार केन्द्र भवन निर्माणगरी प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ । भवनबाट प्रदेश अस्पतालले बिरामीहरुलाई निशुल्क रुपमा सेवा दिँदै आएको छ भने आइ एन एफ नेपालले फिस्टुला उपचार केन्द्रबाट विरामीको निशुल्क उपचारका लागि प्रदेश अस्पताललाई सहयोग पुयाउदै आएको छ ।
यसै सन्दर्भमा आज अन्तर्राष्ट्रिय प्रसव फिष्टुला दिवसका अवसरमा फिष्टुला सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेश अस्पताल सुर्खेत साइनिङ्ग अस्पताल आइ एन एफ सुर्खेतले सुर्खेतमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका निमित्त निर्देशक डा गणेश थापाले जति चाँडो उपचारमा आयो त्यति सजिलै उपचार हुने भएकाले फिष्टुलाका बिरामीहरुलाई अस्पतालसम्म ल्यान सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले फिष्टुला उपचार सेवालाई अस्पतालले निरन्तरता दिँदै थप परिस्कृत बनाउदै लिने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृष बहादर शाहीले फिष्टुलाको उपचार र समस्या आउनै नदिनका लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम निर्माण गर्ने बताउनुभयो । साइनिङ्ग अस्पताल आइएन एफ सुर्खेतका कार्यक्रम संयोजक ललित सारूले फिष्टुलाका बिरामीहरु अझैपनि जनचेतनाको अभावमा अस्पतालसम्म आउन नसकेको भन्दै अब सचेतना अभिवृद्धिका लागि विद्यालय तहको पाठ्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।