अज्ञात रोगबाट हुम्लाको चरीगाउँका पशुचौपाया मरे

साउन २२, हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका ६ को चरी गाउँमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेका छन् । दुई हप्तादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुचौपाया मरिसकेका छन् ।
अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, ¥याल छाड्ने, दिसापिसाबमा रगत देखिने लक्षणसहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा ६, धुन्देउमा ८, रातामाटामा ९ र लाङ्गोरमा ५वटाभन्दा धेरै गाई, गोरु र बाच्छासमेत मरेका चङ्खेली गाउँपालिका ६ चरीगाउँका प्रमसिंह सिराले बताउनुभयो ।
अज्ञात रोग फैलिएकाले अहिलेसम्म चङ्खेली गाउँपालिकाको चरीगाउँका किसानका ६० भन्दाबढी पशुचौपाया मरेपछि त्यहाँका किसानलाई ठूलो क्षति पुगेको छ । खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ ।
खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आएलगत्तै चङ्खेली गाउँपालिकाको पशु शाखामा औषधिका लागि हप्ता दिन धाउँदा स्वास्थ्यकर्मी नभएको र पशुशाखाको ढोका चौबिसै घण्टा बन्दहुँदा रित्तो हात लिएर फर्किनुपरेको सिराले बताउनुभयो ।
गाउँपालिकामा खबर गर्दासमेत औषधि छैन भन्दै कुनै पनि सुनुवाइ नभएको किसानको गुनासो छ । चालू आर्थिक वर्ष शुरू भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुचौपायालाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ छ ।