
२० माघ ,सुर्खेत । डोल्पामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका–४ तिप्लाबाट ढुङ्गा बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको लु५त ७३१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ट्याक्टर चलिरहेका बेला अचानक ब्रेक फेल भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली घर भएका करिब २० वर्षीय चालक विशाल परियार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रयास गरिएको भए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ। दुर्घटनाको विस्तृत विवरण संकलन तथा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।
