
माघ २२, सुर्खेत । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली विकासको मूल ढोका खोलिदिन संघ सरकारसँग आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशको आठौं स्थापना दिवसको अवसरमा बुधबार बोल्दै प्रमुख जोशीले फागुन २१ को निर्वाचनपछि संविधान संशोधन गरियो भने कर्णालीको मूल ढोका खोल्न आग्रह गर्नुभएको हो ।
‘कर्णालीलाई बन्देज गर्न बाँके र बर्दियालाई अन्य प्रदेशमा गाभियो अनि भनियो कर्णाली गरिब छ,’ उनले भने, ‘आवतजावत गर्ने बाटो नै बन्द गरेर गरिबपन बेच्न खोजियो ।’
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ पछि बनेको नागरिक सरकारले पहिलो आक्रमण प्रदेश सरकारमाथि गरेको आरोप लगाउनुभयो । केन्द्रको हस्तक्षेपका कारण प्रदेशसभा र प्रदेश सरकारले बनाएका कानुनहरू प्रयोगविहीन बनाउने प्रयास भएको उहाँको भनाइ छ ।
’संघीय, प्रदेश र स्थानीय तहले कर्णालीमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको अवस्थामा केन्द्रबाट प्रदेश सरकारलाई कमजोर बनाउने नियत देखिएको छ,’ उनले भने, ‘यो संविधान रहुन्जेल संघीयता कसैले खारेज गर्न सक्दैन ।’
यस्तै पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश स्थापना भएपछि कर्णालीले धेरै कुरा प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रमलाई सभामुख नन्दा गुरुङले पनि सम्बोधन गर्नुभएको थियो ।
