नेपालले यमनको सामना गर्दै

काठमाण्डौँ, १३ चैत (जागरण) । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ । यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना भइरहेका छन् ।
समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकता मात्रै हुनेछ । किनकी एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ ।
नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा छ । अर्कोतर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ ।
नेपालले समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो । दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल तेस्रो खेलमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
चौथो खेलमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको नेपाल पाँचौं खेलमा भने ताजिकिस्तानसँग ३–० ले स्तब्ध भएको थियो । नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंकमात्र जोडेको नेपाल अंकतालिकाको पुछारमा छ ।