
माघ, २८ हुम्ला । प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेला उत्तरी हुम्लाको सडक सम्पर्क टुटेको छ । लगातार हिमपात भएपछि सडक अवरुद्ध भएका छन् । तत्कालै सडक खुल्न अवस्था नभएको स्थानीवासी बताउँछन् ।
नाम्खा गाउँपालिका–५ को नारा लेक र नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा अत्यधिक हिउँ जमेकोले सडक पूर्णरुपमा बन्द छ । नाम्खाका लिमी, तिल, जाङ, हल्जी गाउँका अधिकाश मतदाताहरू भने जिल्ला बाहिर नै रहेका छन् ।
हिल्सा नाकामा तापक्रम माइनस २२ डिग्री सेल्सियससम्म झरेको छ । जसका कारण जाडो बढेको हिल्सास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)ले जनाएको छ ।
हिमपातले ८ र ९ नम्बर पिलरसम्म अनुगमन जानसमेत अप्ठेरो भएको बीओपी हिल्साका इन्चार्ज कृष्ण दाहालले बताउनुभयो ।
नारा लेकमा तीनदेखि चार फिट हिउँ जमेको इन्चार्ज दाहालले बताए । नाम्खा गाउँपालिका–६ लिमीका ६७२ मतदाता भएका तीनवटा मतदानस्थलका अधिकाश मतदाताहरू काठमाडौं, दिल्ली, भारतलगायतका ठाउँमा गएकोले मतदान प्रभावित हुनसक्ने नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
तामाङले निर्वाचन नजिकिएकोले सरकारले नारा र न्यालु लेकको हिउँ पन्छाउन पहल गर्नुपर्न माग गर्नुभयो ।
