सेप्ने मात्रै होइन, काम नगर्नेलाई दण्डित पनि गरिन्छः लामिछाने

सुर्खेत, ६ चैत (जागरण) । स्थानीय तह कर्मचारी संघ कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष टंक प्रसाद लामीछानेले स्थानीय तहमा काम नगर्ने कर्मचारीलाई दण्डित गरिने बताउनुभएको छ ।
केही दिन अघि मात्र प्रदेश अधयक्षमा निर्वाचित हुनुभएका उहाँले जागरणसँगको कुराकानीमा कार्यसम्पादनमा कुनै पनि कमी कमजोरी हुन नदिने बताउनुभयो । साथै सरकारले दिएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीको पक्षमा संघले साथ नदिने उहाँको भनाई छ ।
कुराकानीका क्रममा अध्यक्ष लामीछानेले कर्मचारीहरु सरकारले खटाएको ठाउँमा जाँदैनन् भन्ने आरोपको पनि खण्डन गर्नुभयो । उहाँले स्थानीय तहका कर्मचारी सरकारले खटाएको ठाउँमा गएको दाबी गर्दै कतिपय कर्मचारी आफ्नो सेवा सुविधाको ग्योरेण्टी नहुँदा अटेर गरेर बसेको बताउनुभयो ।
अध्यक्ष लामीछानेले स्थानीय तहका कर्मचारीहरुको समस्या समाधान गर्न राज्य गम्भीर नबनेको जिकीर गर्नुभयो । उहाँले नयाँ संरचनाको प्रयोगसँगै कर्मचारीको समायोजनमा ध्यान नपु¥याईएको, वर्षौँदेखि करारमा रहेका कर्मचारीको व्यवस्थापन नगरिएको भन्दै कर्मचारीहरुका समस्या सुनाउनुभयो । अध्यक्ष लामीछानेले स्थानीय सरकारलाई जनमैत्री बनाउनको लागि आफुहरुको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो । स्थानीय सरकार सुत्ने खालको नभई जनताले अपेक्षा गरेअनुसारको सेवा प्रवाह गर्नका लागि सधैँ कटिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।