सुर्खेत, ६ चैत (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अमेरिकाबाट अंग्रेजी भाषा विज्ञ आउने भएका छन् ।
विश्वविद्यालयको शिक्षाशास्त्र सङ्काय अन्तर्गत अंग्रेजी शिक्षा विषयमा अध्ययन, अध्यापन र अनुसन्धान तथा तालिमका सम्बन्धमा १० महिनासम्म संगै काम गर्ने गरी आगामी सेप्टेम्बरदेखि अंग्रेजी भाषाको सहपाठी शिक्षक (विज्ञ) आउने भएका हुन् ।
विश्वविद्यालयको काठमाण्डौँस्थित सम्पर्क कार्यालयमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइराला र अमेरिकन राजदूतावास अन्तर्गतको क्षेत्रीय अंग्रेजी भाषा अफिसका क्षेत्रीय अधिकारी डाक्टर डेनिस यांगबीच आपसी सम्झौतामा हस्ताक्षर भएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको अंग्रेजी शिक्षा विषयमा विज्ञको रूपमा ७० प्रतिसत र नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतलाई तालिम सेमिनारको सहजीकरणको लागी ३० प्रतिसत समय काम गर्ने गरी आगामी सेप्टेम्बरबाट सुर्खेतमा आवासीय रूपमा आउने गरी सम्झौतामा हस्ताक्षर भएको विश्वविद्यालयका अंग्रेजी शिक्षाका विषय समितिका अध्यक्ष विष्णु कुमार खड्काले बताउनुभयो ।
सम्झौतामा हस्ताक्षर गर्दै उपकुलपति प्राध्यापक डाक्टर कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र अमेरिकास्थित ख्यातिप्राप्त विश्वविद्यालयहरूसँग यसअघि नै आपसी समझदारी पत्रमा हस्ताक्षर समेत भएको प्रसंग उल्लेख गर्नुभयो । साथै आगामी दिनमा अमेरिकी राजदूतावास र विश्वविद्यालयले आपसी साझा हितका विषयमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
समझदारीपत्रमा हस्ताक्षरको समयमा विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्रकुमार मल्ल र अमेरिकन राजदूतावास अन्तर्गतको क्षेत्रीय अंग्रेजी भाषा अफिसका क्षत्रीय भाषा बिज्ञ विश्वराज गौतमको समेत उपस्थिति थियो । समझदारी पत्रको अनुसार सन् २०१८ को सेप्टेम्बरबाट सन् २०१९ को जुलाई सम्म शिक्षाशास्त्र सङ्काय अन्तर्गतको अंग्रेजी शिक्षा विषयमा स्नातकोत्तर तह र स्नातक तहमा हप्ताको २० घण्टा अध्ययन अध्यापन र अनुसन्धान तथा तालिममा सहयोग गर्नेछ भने उसको सम्पूर्ण बसाइको व्यवस्थापन अमेरिकन राजदूतावास अन्तर्गतको क्षेत्रीय अँग्रेजी भाषा अफिस (रिलो) ले गर्नेछ ।
त्यसै गरी अग्रेजी भाषाको फेलोको लागि आवश्यक भिजा लगायतका कागजी प्रक्रियाहरूलाई सम्पर्क व्यक्ति तोकी विश्वविद्यालयले शिक्षा मन्त्रालयमा कोटा माग गर्ने र केहि समस्या उत्पन्न भएमा दुई पक्षको आपसी सहजीकरणमा सम्पन्न गरिनेछ । त्यसका लागि अंग्रेजी भाषा सहजकर्ता/विज्ञको रुपमा ओहियो अमेरिकाका डेभिड डी. अर्नोल्ड छनौट हुनुभएको छ ।