मदिरा किन्नुभन्दा अगाडि तीन पुस्ताको नाम भन्नुपर्ने

सुर्खेत, १५ भदौ (जागरण) । लागूऔषध र मदिराका कारण अपराधजन्य घटना बढेपछि प्रदेश सरकारले यसविरुद्ध कडा कदम चाल्ने भएको छ । प्रदेश सरकारले लागूऔषधलाई पूर्णरुपमा निषेध र मदिरामा कडाइ गर्न लागेको हो ।
यसका लागि कानुन निर्माणको काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रहरीको तथ्याकंले यो प्रदेशमा मुख्यगरी लागूऔषध र मदिरा सेवनका कारण अपराध बढेको देखाएपछि सरकारले यसमा कडाइ गर्न लागेको हो ।
मन्त्रालयका अनुसार अब मदिरा बिक्री वितरणका लागि प्रदेशभित्र निश्चित स्थान र समय तोकिनेछ । यस्तै अब आफ्नो तीन पुस्ते विवरण खुलाएपछि मात्र मदिरा किन्न पाउनेछन् ।
मदिराको खुला बिक्रीवितरण हुँदा यसले समाजमा अपराध बढेको र महिलाहिंसाका घटनामा पनि कमी नआएपछि यस्तो व्यवस्था गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सेवनकर्ताले आफ्ना बाजे, बुबा र आफ्नो नाम खुलाएपछि मात्र मदिरा किन्न पाउने बताउनुभयो ।
तीन पुस्ते खुलाउनैपर्ने बाध्यकारी नियमका कारण व्यक्तिमा सामाजिक प्रतिष्ठामा आँच आउने भयका कारण पनि मदिरा सेवनमा कमी आउने मन्त्रालयको विश्वास छ । यस्तै बिक्री वितरणमा पनि कडाइ भएपछि मदिरा नियन्त्रणमा सहज हुने मन्त्री भण्डारीको भनाइ छ ।