सुर्खेत, १४ कात्तिक (जागरण) । साढे दुई महिनापछि कर्णालीमा प्रदेश संसदको बैठक सुचारु भएको छ । गत साउन २५ गते यता बस्न नसकेको संसद बैठक पहिलो पटक मंगलबार बसेको हो ।
प्रदेश सरकारले सांसदहरुलाई बजेटको रातो किताब उपलब्ध गराएपछि लामो समयसम्म अवरुद्ध रहेको संसद बैठक सुचारु भएको छ ।
गत साउन २५ गते यता संसद चल्न सकेको थिएन । सरकारले बिजनेश नदिएका कारण दुई महिनासम्म स्थगित संसद बैठक असोज २३ गते बसेको थियो ।
तर कांग्रेसका सांसदहरुले बजेटको रातो किताब उपलब्ध गराउनुपर्ने र सरकारका कामकारबाहीबारे मुख्यमन्त्रीले संसदमा जबाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गर्दै आएका थिए ।
सरकारले रातो किताब तयार नपारेको र मुख्यमन्त्रीले पनि संसदमा जबाफ नदिएपछि यसअघि पटकपटक सुचना टाँसेर संसद बैठक स्थगित हुँदै आएको थियो ।
आज सरकारले रातो किताब उपलब्ध गराएपछि कांग्रेसले संसद चल्न दिएको हो । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपक्षीको माग अनुसार सरकारले हालसम्म सम्पादन गरेका कामबारे जबाफसमेत दिनुभएको छ । मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनको आधार तयार भईनसकेकाले रातो किताब दिन नसकिएको स्पष्ट पार्नुभयो ।
यस्तै, मुख्यमन्त्री शाहीले आगामी वर्ष बजेट विनियोजन गर्दा वृहत छलफल गरेर गरिने विश्वास दिलाउनुभयो । साथै उहाँले बजेट कार्यान्वयन गर्नका लागि साथ दिन पनि आग्रह गर्नुभयो ।
यसैबीच मंगलबारकाे संसद बैठकले कर्णाली प्रदेशका गाउँ तथा नगरसभा संचालनका लागि बनेको विधेयक पारित गरेको छ । यस्तै प्रदेश सभाका सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक बैठकमा पेश भएको छ । संसदको अर्को बैठक बुधबार अाज बस्नेछ ।