माघी विशेषः एक हजार ७० कुन्टल तरुल र सखरगञ्जी कर्णालीमा आयात

सुर्खेत, १ माघ (जागरण) । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड आज मनाइँदैछ । यो माघ महिनाको पहिलो दिन पर्दछ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो ।
सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण ।
यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तर हिजोआज पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।
माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा विभिन्न धार्मिक स्थलहरुमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।
माघी पर्वका लागि कर्णाली प्रदेशमा तरुल र सखरगञ्जी आयात भएको छ । माघीकै लागि भनेर जिल्लाका लागि कुल एक हजार ७० कुन्टल तरुल र सखरगञ्जी आयात भएको हो । पुस १५ देखि यता उक्त परिमाणमा आयात भएको जनाइएको छ ।
कुल आयात भएकोे परिमाण मध्ये ७५ प्रतिशत छिमेकि मुलुक भारतबाट आयात गरिएको छ । आयातित बाकी २५ प्रतिशत छिमेकी जिल्ला बाँके, बर्दिया र दाङबाट आयात गरिएको छ ।