सुर्खेत, २७ मंसिर (जागरण) । पठनपाठनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका दैलेखका विद्यार्थीहरुले ‘स्वर्णिम कर्णाली’ को बहस शुरु गरेका छन् ।
दैलेखी विद्यार्थी एकता समाजमा आवद्ध विद्यार्थीहरुले आफ्नो वार्षिक बुलेटिन ‘स्वर्णिम कर्णाली’ सार्वजनिक गरी विकासको बहससमेत चलाएका हुन् ।
बुलेटिन विमोचन गर्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीलाई समृद्ध र विकसित गराउन विद्यार्थीबाट भएको बहसको थालनी स्रहानिय रहेको बताउनुभयो ।
उहाँले एक-दुई जनामात्र नभई सामुहिक प्रयासबाट मात्र समृद्धिको यात्रा सफल हुने बताउनुभयो ।
यसैगरी कर्णाली प्रदेशसभा साँसद् धर्मराज रेग्मीले कर्णाली प्रदेशमा भएका विकास र समृद्धिका सम्भावनालाई यथार्थमा बदल्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।
त्यस्तो नेतृत्वको लागि बौद्धिक बहस गरी नयाँ विचार सिर्जना गर्न विश्वविद्यालयहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्यहरु डाक्टर दीपेन्द्र रोकाय र योगेन्द्र शाहीले कर्णालीको लागि विद्यार्थीले थालेको अभियानमा आफुहरुको साथ रहेको बताउनुभयो ।
वार्षिक रुपमा विचार तथा रचना प्रकाशित गर्नेगरी ‘स्वर्णिम कर्णाली’ बुलेटिनको शुरुवात भएको दैलेखी विद्यार्थी एकता समाजका अध्यक्ष पदम खड्काले जानकारी दिनुभएको छ ।
बुलेटिनमा विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुका विचार, भोगाई र अनुभव समेटिएका छन् ।