कर्णाली प्रिमियर लिगः धनगढी र टिकापुरको लगातार दोस्रो जित

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) मा टिकापुर र धनगढी क्रिकेट क्लबले लगाता दोस्रो जित दर्ता गरेका छन् ।

आज दोस्रो दिन भएको खेलमा महाकालि क्रिकेट क्लबलाई २ विकेटले हराउँदै टिकापुर विजयी भएको छ भने रोयल राइजिङ क्लबलाई ४९ रनले पराजित गर्दै धनगढीले दोस्रो जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको महाकाली क्रिकेट क्लबले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १ सय ४८ रन बनायो । महाकालीको लागि प्रकाश सिंहले सर्वाधिक ३७ रन, नरेश बोहराले ३३ रन र सुरेन्द्र चन्दले २९ रन बनाउनुभयो ।  बलिङ्गतर्फ टिकापुर क्लबका बबिन  शर्मा र अर्जुन शाहीले २/२ विकेट लिनुभयो ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको टिकापुरले १९ दशमवलव ५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।  रवी शाहले सर्वाधिक ५५ रन बनाउनुभयो भने ३७ बलमा ११ चौका प्रहार गर्नुभयो ।

यस्तै, आजै भएको खेलमा रुपेन्देही– ११ पनि विजयी भएको छ । आज भएको खेलमा भेरीगङ्गा स्पोट्र्स क्लबलाइ लाई ८ विकेटले पराजित गर्दै रुपन्देहीले जीत हात पारेको हो ।

वीरेन्द्रनगर स्थित रंगशालामा भएको खेलमा टस जितेर पहिलो ब्याटिंग गरेको भेरीगङ्गाले निर्धारित १८.६ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो ।

६९ रनको झिनो लक्ष्य पछ्याएको रुपन्देहीले ५ दशमलवव २ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा सबै  विकेट गुमाएर १६१ रन बनायो । धनगढीको लागि लोकेश बमले सर्वाधिक ३८ रन बनाउनुभयो ।

१ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङ्गले २० ओभरमा ६ विकेट  गुमाएर ११२ रन मात्रै बनाउन सक्यो ।

प्रतियोगिता अन्तरगत भोली पनि तीन खेल हुँदैछन् । मध्यपश्चिम क्रिकेट क्लब र रोयल राइजिङ्ग विच बिहान ७ बजे, एविसि स्पोट्र्स क्लब र  धनगढी क्रिकेट क्बलविच विहान साढे १० बजे र त्रिभुवन आर्मी क्बल र रुपेन्देही – ११ विच दिउँसो २ बजे खेल हुने आयोजकले जानकारी दिएको छ ।

हिजोदेखि सूरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ ।

कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।