काठमाण्डौँ, ८ चैत (जागरण) । नेपाली कांग्रेसले कोरोना भाइरस विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ ।
कांग्रेसले कोरोना भाइरसविरुद्ध सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाइँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताउनुभयो । शर्माले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताउनुभयो ।
चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका कामहरु रोकिएको उहाँले बताउनुभयो । फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनासम्बन्धी सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताउनुभयो ।
सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी चैत ९ देखि १८ गतेसम्म सम्पूर्ण अन्तराष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय पनि गरिएको छ ।