कोरोना भाइरसका नयाँ संक्रमित कहाँका कति ? हेर्नुहोस्

सुर्खेत, २६ जेठ (जागरण) । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या ६ सय ७५ पुगेको छ ।

पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा रहेको प्रदेश अस्पताल अन्तर्गतको प्रयोगशालामा भएको परीक्षणबाट थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेमा दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जना रहनुभएको सामाजिक विकास मन्त्रालयको महासाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

दैलेखका १० मध्ये गुराँस गाउँपालिका ४ का दुई जना, आठबीस नगरपालिका ७ का ३० वर्षीय पुरुष, नारायण नगरपालिका ३ का १५ वर्षीय पुरुष, नारायण नगरपालिका ६ का १८ वर्षीय पुरुष, डुंगेश्वर गाउँपालिका १ का २१ र ४० वर्षीय पुरुष रहेका छन् ।

दैलेखकै नौमुले गाउँपालिका १ का २३ वर्षीय पुरुष, नौमुले ७ का २६ वर्षीय पुरुष, नौमुले ८ का १८ वर्षीय पुरुष छन् । सुर्खेतको बराहताल गाउँपालिका १० का २१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

सल्यानका ५ जनामध्ये वनगाड कुपिण्डे नगरपालिका २ का १७ र २३ वर्षीय पुरुष, वनगाड ३ का १८ वर्षीय पुरुष र कुमाख गाउँपालिका १ का १८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । कुमाख ३ का २१ वर्षीय पुरुषसहित कर्णालीका थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णालीमा हालसम्म सबैभन्दा धेरै दैलेखका ३ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि सल्यानमा १ सय २४, सुर्खेतमा ९२, कालीकोटमा २८, जुम्लामा २२, जाजरकोटमा ५, मुगुमा २, डोल्पा र हुम्लामा एक–एकजनामा संक्रमित छन् ।

प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म कोरोना पुष्टि भएका मध्ये तीन जनाको मृत्यु भइसकेको छ, भने ११ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा आज एकैदिन ३ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नव नियुक्त प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार आज ३ सय १४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३७ सय ६२ पुगेको हो । नयाँ संक्रमितमध्ये २ सय ९४ पुरुष र २० महिला छन् ।

आज पीसीआर विधिबाट १ लाख ९ सय ७१ र आरडीटी विधिबाट एक लाख ५६ हजार ९ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । आज थप २१ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमले २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिनुभयो । यो सहित निको हुनेको संख्या ४ सय ८८ पुगेको छ ।

नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएकामध्ये आज १ जनाको मृत्यु भएकोसमेत उहाँले जानकारी दिनुभयो । यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ ।