बालबिबाह रोक्न कर्णाली सरकारद्वारा सामुदायिक रेडियोहरुसँग समन्वय

टेकराज केसी ।
सुर्खेत, २५ कात्तिक (जागरण) । बालबिबाह विरुद्ध कर्णाली प्रदेश सरकारले सामुदायिक रेडियोहरुसँग समन्वय गरेर अभियान संचालन गर्न शुरु गरेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गरिरहेको आवाज संस्थाले जागरण एफएमसहित कर्णालीका ११ वटा सामुदायिक रेडियोसँगको समन्वयमा बालबिबाह विरुद्ध साझा अभियानको शुरुवात गरेका हुन् ।
अन्य प्रदेशको तुलनामा कर्णालीमा बालबिबाहको दर उच्च रहेको भन्दै सबैलाई सचेत बनाउन कर्णालीका सामुदायिक रेडियो मार्फत अभियानको शुरुवात गरिएको यस कार्यक्रमका अभियान्ता चेतन गिरीले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा अधिकृत अनिता ज्ञवालीले पनि कर्णालीमा रहदै आएको बाल बिबाह अन्त्यको लागि सामुदायिक रेडियो भुमिका धेरै हुन सक्ने भन्दै कार्यक्रम शुरुवात गरिएको बताउनुभयो ।
यस्तै, विभिन्न जनप्रतिनिधिहरुले पनि सामाजिक समस्याको रुपमा रहेको बालबिबाह विरुद्धको साझा अभियान सामुदायिक रेडियोहरु मार्फत गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।
दैलेख दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सरकारले लिएको दिगो विकास लक्ष्य पुरा गर्न यो कार्यक्रम महत्वपूर्ण हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
सुर्खेतबाट निर्वाचित प्रदेशसभा सदस्य यमलाल कंडेलले पनि कर्णालीमा बालबिबाहको अवस्था धेरै रहेको भन्दै यो कार्यक्रम व्यवहारमा लागु गर्नेगरी लाग्न सुझाव दिनुभयो ।
यस्तै, दैलेखबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसद पार्वती विसुन्केले पनी कार्यक्रमले साथर्कता पावस भनी शुभकामना व्यक्त गर्नुभयो ।
सरकारले सन २०३० सम्म देशभरबाट बालबिबाह अन्त्य गर्ने लक्ष्य लिएको छ । तर सरकारी तथ्याङ्कअनुसार कर्णालीमा ५२ प्रतिशत बालबिबाह हुने गरेको छ ।