दुइ राजनितिक दलबिच कुटाकुट भएपछि…….

रुकुम पश्चिम, ७ माघ (जागरण) । दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
आठबीसकोट नगरपालिकामा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो ।
उहाँलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताउनुभयो ।
शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुनुहुन्छ । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ ।
प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।