सल्यानका २ प्रतिशत बालबालिका कुपोषित

बुद्धी पुन ।
सल्यान, ७ फागुन (रेडियो राप्ती) । सल्यानका २ प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले दिएको तथ्याङ्कअनुसार सल्यानमा २ प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको हो ।
स्वास्थ्य संस्थाहरुमा गरिएको बालबालिकाहरुको तौलको आधारमा यस्तो तथ्यांक सार्वजनिक भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार जिल्लाको दार्मा गाउँपालिकामा सबै भन्दा धेरै कुपोषित बालबालिका भेटिएका छन् ।
जिल्लाको भूबनोट र खाने बानीमा भएको समस्याका कारण बालबालिकामा कुपोषण देखिएको उहाँको भनाई छ । उहाँका अनुसार कुपोषणको मुख्य दोष गरिबी नै हो ।
खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने सुचना अधिकारी डिसीको भनाई छ ।
कार्यालयका अनुसार जिल्लाभरका ३७ प्रतिशत गर्भवति महिलाहरु घरमा नै सुत्केरी हुने गरेको पाइएको छ ।
यस्तै ३९ प्रतिशत नागरिकले मात्रै परिवारनियोजनका साधनहरु प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको कार्यालयका सि. अहेब अधिकृत रिखाराम पुनले जानकारी दिनुभयो ।