कर्णाली प्रदेशमा हाल सम्म ४९ प्रतिशत भन्दा धेरै धान रोपाई

सुर्खेत, १२ असार (जागरण) । कर्णाली प्रदेशमा हाल सम्म ४९ प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । कर्णालीका हिमाली लिल्लाहरुमा ८० प्रतिशत भन्दा बढी रोपाइ भइसकेको छ । कर्णाली प्रदेशको कृर्षी विकास निर्देशनालयका अनूसार सुर्खेत र दैलेख बाहेक अन्य जिल्लामा ६० प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ ।
यो वर्ष समयमै मनसुन शुरु भएकाले प्रदेशका सबै जिल्लामा असार दोस्रो सातासम्म करिब ४९ प्रतिशत धान रोपाई सम्पन्न भएको हो ।
प्रदेशको ४१ हजार पाँच सय पाँच हेक्टर धान हुने जमिनमध्य हालसम्म २० हजार चारसय १९ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाका अनुसार सुर्खेतमा दुई हजार ६५० अर्थात २० प्रतिशत र दैलेखमा दुई हजार ९३५ अर्थात ४५ प्रतिशत धान रोपाई सकिएको छ ।
प्रदेशका जाजरकोटमा दुई हजार ४३१ (६५ प्रतिशत), सल्यानमा दुई हजार २४३ (६० प्रशिशत), रुकुम पश्चिम एक हजार ९८१ (६५ प्रतिशत), कालिकोट दुई हजार २२७ (७० प्रतिशत), र जुम्लामा दुई हजार ६१० (९० प्रतिशत) धान रोपाई सकिएको छ ।
यस्तै, मुगुमा ६३२ (७० प्रतिशत), हुम्लामा ४८८ (८० प्रतिशत) र डोल्पामा २२१ (८० प्रतिशत) रोपाई सकिएको राकायले जानकारी दिनुभयो ।