दैलेखमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारीहिन

भिम बहादुर सिजापती ।
दैलेख, ३० असार (रेडियो ध्रुवतारा) । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दैलेखमा हचुवाको भरका काम भएको पाइएको छ ।
रोजगार कार्यक्रमको बजेट सक्ने मात्रै काम भएको हो ।
नौमूले गाउँपालिकाका ८ वटै वडामा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै जनताले आक्रोस व्यक्त गरेका छन ।
नौमूले गाउँपालिका ७ पैतिका स्थानीय भुवनसिंह वस्नेतले आफुहरुले घरवाट कुटो, कोदालो, वेल्चा, साव्वल लगेर काम गरेको तर गैटी, वेल्चाहरु काम सकिएपछि ल्याईएको वताउनुभयो ।
वस्नेतले आफ्ना सामग्री काम गरिएको भन्दै सामाग्री समेत रकम पाउनुपर्ने माग गरेका छन । खरिदका लागि आएको बजेटमा अनियमितता भएको हुन सक्ने भन्दै रकम नपाए गाउँपालिकाको रोजगार शाखामा ताला लगाउने चेतावनी दिनुभयो ।
काम शुरु हुने वित्तिकै आउनु पर्ने निर्माण सामाग्री रोजगार संयोजक सन्दिप विश्वकर्माको लापरवाहीका कारण समयमै सामाग्री नआएको बस्नेतको भनाई छ ।
यसैगरी नौमूले गाउँपालिका ३ द्वारीका स्थानीयले समेत समयमै काम सम्पन्न गरेको भएपनि आफुहरुले काम गरेको रकम नपाएको वताएका छन ।
हिलेदेखी भाँडे गोरेटो वाटो मर्मत योजनाको कुल लागत २१ लाख ५७ हजार थियो । जसमा १७ लाख ८३ हजार मात्र भुक्तानी भएको उपभोक्ता समितिका सचिव चन्द्र वहादुर पुरीले वताउनुभयो ।
यता नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले रोजगार कार्यक्रममा सम्पुर्ण योजनाको अनुगमन गरेर छानविन गरिने बताउनुभएको छ ।