सुर्खेत, २६ साउन (जागरण) । कर्णाली प्रदेशमा दुई लाख भन्दा बढी नागरिकले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध खोपको पहिलो डोज लगाएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको तथ्यांकअनुसार २ लाख ४४ हजार ५ सय १२ जनाले हालसम्म कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।
जसमध्ये एक लाख ८ हजार ४ सय ८६ जनाले कोभिशिल्ड खोप लगाएका छन् । जुन खोप अभियान २०७७ माघ १४ देखि चैत २ गतेसम्म संचालन भएको थियो । कोभिशिल्ड खोपको दोस्रो डोज लगाउनेको सख्या भने २५ हजार ८ सय १६ मात्र छ । जुन खोप अभियान २०७८ बैशाख ७ देखि ११ सम्म संचालन भएको थियो ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोभिसिल्ड खोप प्राप्त नभएको कारण ८२ हजार ६ सय ७० जनाले समयमै दोस्रो डोज लगाउन पाएका छैनन् ।
तर, कोभिसिल्डको दोस्रो डोजको प्रतिक्षामा रहेका नागरिकलाई आजदेखि खोप लगाउन शुरु गरिएको छ ।
यस्तै, कर्णालीमा भेरोसेल खोपको पहिलो डोज लगाउनेको सख्या २६ हजार ५ सय १० जना छ ।
भेरोसेलको पहिलो डोज लगाउने खोप अभियान २०७८ जेठ २५ देखि असार १ सम्म संचालन भएको हो । भेरोसेलकै दोस्रो डोज १९ हजार ९ सय ३१ जनाले लगाएका छन् । यो खोप अभियान यहि असार २२ देखि संचालन भएको हो ।
साउन ११ पछि संचालन भएको खोप अभियानमा भेरोसेलको पहिलो डोज लगाउनेको सख्या ८४ हजार २ सय ६८ जना रहेको स्वास्थ्य सेवा निर्देशनालायका सुचना अधिकारी नोधनारायण चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोनसोेन एण्ड जोनसोन खोप लगाउनेको संख्या २५ हजार २ सय ४८ छ । जोनसोेन एण्ड जोनसोन खोप भने चार जिल्ला मुगु, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लामा मात्र संचालन भएको छ ।