सुर्खेत, ३० साउन (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसंग कार्य सम्झौता गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले चालु आर्थिक बर्षमा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको समय तालिकासहितको सम्झौता गर्नुभएको हो ।
आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शाही र अन्य मन्त्रीहरुबीच सम्झौता भएको छ । अब मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसंग सम्झौता गर्नेछन् ।
गत आर्थिक बर्षमा पनि यस्तै किसिमको सम्झौता गरिएको भएपनि सम्झौता अनुसारको कार्यसम्पादन हुन सकेको थिएन् ।
गत बर्ष बजेट खर्च ८० प्रतिशत पु¥याउने कुरा सम्झौतामा राखिएको भएपनि ६७ प्रतिशत मात्र खर्च भएको छ । सम्झौताका बेला मुख्यमन्त्री शाहीले सम्झौता अनुसारको लक्ष्य पूरा गर्न नसकेको खण्डमा मन्त्रीहरुले स्वत राजीनामा दिनेछन नदिएको खण्डमा आफैले पदबाट हटाउने बताएउनुभएको थियो ।
तर कोरोनालाई कारण देखाउँदै लक्ष्य प्राप्त हुन नसकेपनि सन्तोषजनक प्रगति भएको मुख्यमन्त्री शाहीले दाबि गर्नुभयो ।
विगतका बर्षभन्दा गत आर्थिक बर्षमा भने कर्णाली प्रदेश सरकारले बजेट खर्च बढाएको छ । कार्यसम्झौता गरेका कारण वित्तीय प्रगति बृद्धि भएको मुख्यमन्त्री शाहीको भनाइ छ । चालु आर्थिक बर्षमा सत प्रतिशत बजेट खर्च हुने मुख्यमन्त्री शाहीले बताउनुभयो ।