संविधानविपरित कर्णालीको बजेट आएको विपक्षीको टिप्पणी

सुर्खेत, ४ असार (जागरण) । कर्णाली प्रदेशसभाको आईतबारको वैठक सुचना टाँस गरी भोली दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । हिजोको वैठकको शुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा नियमापत्ति जनाएपछि वैठक स्थगित भएको हो ।
कांग्रेसले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट संविधान विपरित भएको भन्दै वैठकमा नियमापत्ति जनाएको हो ।
बजेटमाथि छलफल गर्ने क्रममा सुरुमै नेपाली काँग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाहीले बजेटमा सविधान अनुसार चालु आर्थिक वर्षको लागि प्रत्येक मन्त्रालयलाई छुट्टाएको रकम र खर्च अनुसारको लक्ष्य हाँसिल भयो या भएन् भन्ने विवरण पेश नगरेको भन्दै नियमापत्ती जनाउनुभयो ।
बैठकमा कांग्रेसले नियमापत्ति जनाएपछि सभामुख राजबहादुर शाहीले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि वैठक पुनः शुरु हुन नसकेपछि सुचना टाँस गरी पर्सिसम्मका लागि स्थगित गरिएको हो ।
हिजोको वैठकमा शुक्रबार सार्वजनिक गरेको बजेटमा दवाफार छलफल गर्ने संसदको कार्यसुची थियो ।
नेपालको संविधान भाग १६ को धारा २०७ को उपधारा २ को १ मा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्टाएको रकम र खर्च अनुसारको लक्ष्य हासिल भयो या भएन् त्यसको विवरण पनि साथमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।