सुर्खेत, २३ पुष (जागरण) । कर्णालीमा पछिल्लो समय बाल विवाहलाई अस्वीकार गर्ने परिपाटी बढेको छ । पहिले समाजले बालविवाहलाई स्वभाविक रुपमा लिने गरेकोमा पछिल्ला दिनमा भने बालविवाहमा भोज बहिष्कार गर्ने, पुरोहितहरु उमेर नपुगेका जोडिको विवाह कर्ममा सहभागी नहुने तथा प्रहरीमा उजुरी गर्ने क्रम बढेको हो । अभिभावकको स्वीकृत विना गरेका बाल विवाहमा अभिभावक र अभिभावकको स्वीकृतीमा गरेका विवाहमा छरछिमेक, सामाजिक अभियान्ताले प्रहरीमा खबर गर्ने गरेका छन् ।
पहिले बालविवाह भएपनि प्रहरीसम्म उजुरी आइपुग्दैनथियो । अहिले प्रहरीमा बालविवाहका उजुरी बढेका छन् । उजुरीका आधारमा हेर्दा तथ्यांकमा बाल विवाह बढेको देखिएपनि वास्तविकतामा भने घटेको बाल बालिकाका क्षेत्रका काम गर्दै आउनुभएकी इन्द्रा घर्तीले कर्णालीरैबारसंग बताउनुभयो
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत चार वर्षमा बालविवाहसम्बन्धी ५५ वटा मुद्धा दर्ता भका छन् । त्यस मध्य आर्थिक वर्ष २०७५÷०७६ मा १९ वटा, २०७६÷०७७ मा १२ र २०७७÷०७८ मा २० वटा बालविवाहका मुद्दा दर्ता भएका छन् । यस वर्षको साउनयता बालविवाहका ४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
चार बर्षको तथ्यांक अनुसार सबैभन्दा धेरै दैलेखमा १७, सुर्खेतमा १६, सल्यानमा १३, जाजरकोटमा ३, रुकुम पश्चिम, जाजरकोट, जुम्लामा २÷२ ओटा वालविवाहका मुद्दा छन् । विगत चार बर्षमा हुम्ला, मुगु र डोल्पामा भने बालविवाहसम्बन्धी मुद्धा दर्ता नभएको देखिन्छ ।
पछिल्लो समय बाल विवाहका घटनामा प्रहरीले पनि चासो देखाउन थालेको छ । बाल विवाह र कम उमेरमा हुने विवाह रोक्न प्रहरी सक्रिय रुपमा लागेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
यसअघि मुलुकी ऐन, २०२० को एघारौँ संशोधनले विवाह गर्नका लागि महिला र पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो । पछिल्लो पटक केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन बर्षसम्म कैद र दश हजार रुपैयासम्म जरीवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।