अखिल साँस्कृतिक साँझ सर्यो, असाेज २९ गते हुने


सुर्खेत, ९ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनीयन (अनेरास्ववियू) सुर्खेतले आयोजना गरेको ‘अखिल साँस्कृतिक साँझ’ कार्यक्रम असोज २९ गतेका लागि सारिएको छ ।
असोज १० गते वीरेन्द्रनगरमा हुने भनिएको उक्त कार्यक्रम आयोजकले केही समय पछि सारेको हो । आयोजक अनेरास्ववियू सुर्खेतले आज पत्रकार सम्मेलन गरी बर्षा, बाढी पहिरो तथा मौसम प्रतिकुलताका कारण सारिएको जानकारी दिएको छ । केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली सह–संयोजक प्रेम खड्काले आर्थिक विपन्नताका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्नेगरी अक्षय कोष ‘अखिल कोष’ स्थापना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
सुर्खेत सभा हल (सिटी हल)मा हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहनेछ ।
साँस्कृतिक साँझमा लोक गायक बद्री पंगेनी, भूमिका गिरी, राजा राजेन्द्र पोखरेल, बाल गायक किसन सिजापति तथा स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति हुने अनेरास्ववियु सुर्खेतका अध्यक्ष आशिष आचार्यले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम असोज २९ गते दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । साँस्कृतिक साँझ हेर्नका भिआइपि टिकट पाँच सय, एक हजार र दुई हजारको रहेको छ भने सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको सचिव ललित केसीले जानकारी दिनुभयो ।