कालिकोट बम बिस्फोट घटनाः बम बारुदको सिकार बालबालिका हुनु दुखत, घटनाको छानबिन गर्न माग

सुर्खेत । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले कात्तिक १२ गते कालिकोट जिल्लाको तिलागुफा नगरपालिका १०, रानावाडा स्थित कोदोबारीमा बम विस्फोटमा परि २ जना बालिकाको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण गराएको छ ।
एक वक्तव्य जारी गर्दै बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ, “अवोध ४ बर्षिय बालिका झरना थापाको घटनास्थलमै, अर्काे ४ बर्षिय बालिका सरस्वती रानाको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा ज्यान गएको र सोही स्थानका ७ बर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी दर्सना राना घाईते भएको घटनामा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।”
साथै महाकालि नदी पारी भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने सडक विस्फोटबाट उछिटीएको ढुंगा लागेर व्यास गाउँपालिका २ दुम्लींग दार्चुलाका ९ बर्षिय बालकको मृत्युको घटनाप्रति पनि ध्यानाकर्षण भएको बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यी दुवै घटनाले भारत सरकारको कुटनीतिक हेपाई तथा नेपाल सरकारले बालअधिकार सम्बन्धि गरेको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिबद्धता, ऐन कानुनको धज्जी उडाएको भन्दै दुवै घटनामा मृत्यु भएका बालबालिका प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदनाका साथै घाईते बालबालिकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।
शान्ती सम्झौता भएको १६ वर्ष भएको भन्दै युद्धको अनुपस्थितीमा समेत बम र युद्ध जन्य सामाग्रीको सिकार अवोध बालबालिका भएको अक्षम्य अपराध भएको विञप्तीमा भनिएको छ ।
तिलागुफा नगरपालिका १० रानावाडा कालिकोटमा भएको बम विस्फोटनमा पुरानो बम हो की नयाँ वा अन्य कुनै परिघटना बाट सिर्जत हो ? त्यसको बारेमा यथाशीघ्र सत्यतथ्य छानविन गरि दोषीउपर हदै सम्मको कार्वाहीको लागि नेपाल सरकारसँग माग समेत गरिएको छ ।