वडा कार्यालयका काममा वीरेन्द्रनगर १ वासीको चासो


सुर्खेत, २ असार ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १ वासीले वडा कार्यालयबाट प्रदान गरिने सेवा तथा विकास निर्माण सम्बन्धी जिज्ञासाहरुको जनप्रतिनिधि र कर्मचारीसंग जवाफ मागेका छन् ।
शनिबार वडा कार्यालयकाे आयोजना तथा कर्णाली मिडिया सेन्टरकाे सहजीकरणमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित वडावासीहरुले जनप्रतिनिधिसंग आफ्ना जिज्ञासाको जवाफ मागेका हुन् । सार्वजनिक सुनुवाईको प्रश्नोत्तर सत्रमा वडावासीहरुले फोहोर व्यवस्थापन प्रभावकारी रुपमा सञ्चालन नभएको, अधिकांस टोलहरुमा खानेपानीको चरम समस्या रहेको, विद्युतको लो भोल्टेज समस्याले आजित बनाएको, सडक, विद्यालय लगायत भौतिक पूर्वाधार विकास कम्जोर रहेको, सामुदायिक वन अतिक्रमणमा परेको, युवाहरु लागू औषध दूव्र्यसनमा लागेको भन्दै यी समस्या समाधानका लागि वडाबाट भैरहेका काम तथा पहलबारे वडावासीरुले जिज्ञासा राखेका थिए । सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै वडाअध्यक्ष दिनेश खत्रीले वडााट हुने दैनिक सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनुका साथै विकास निर्माणका लागि निरन्तर प्रयत्नशिल रहेको बताउनुभयो । उहाँले वीरेन्द्रनगरको १ नं. वडा भएता पनि विकासमा पछाडी परेको भन्दै वडाको विकासका लागि नगरपालिका, प्रदेश सरकार तथा जनप्रतिनिधिहरुसंग निरन्तर पहल गरिरहेको बताउनुभयो । साथै वडाबाट सञ्चालन गरिने कार्यक्रमहरुलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा वडा सचिव सपना गौतमले कार्यालयबाट प्रदान गरिने सेवालाई अझै प्रभावकारी बनाउने, कार्यालयमा नागरिक वडापत्र, सूचना पाटी र उजुरी पेटिकाको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा सदस्य हरि प्रसाद पौडेलले वडाका जनप्रतिनिधि र कर्मचारी सबै जनताको काममा सधैँ लागि परेको बताउनुभयो । वडा सदस्य बेलु दर्लामीले महिला, बाल बालिका ज्येष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्तिहरुका लागि लक्षित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै आगामी बर्ष त्यसलाई थप गर्दै लगिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासा र जनप्रतिनिधिको जवाफपछि विभिन्न छ बुँदामा लिखित प्रतिबद्धता गरिएको छ । वडा कार्यालयले योजना छनौट गर्दा टोल स्तरमा बढी भन्दा बढी नागरिकको सहभागिता गराउने, बार्षिक कार्यक्रम र बजेट सूचना पाटीमा टाँस्ने तथा आमसञ्चारका माध्यमबाट सार्वजनिक गर्ने, वडा कार्यालयमा नागरिक वडापत्र, उजुरी पेटिका र सूचनापाटीको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै वडाभित्रको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा अपांगता भएका व्यक्तिहरुका लागि लक्षित कार्यक्रम बृद्धि गर्ने र वडा भित्र हुने विकास निर्माणलाई आवश्यकताका आधारमा छनौटगरी गुणस्तरीयता कायम गराउने प्रतिबद्धता गरिएको हो ।