वर्तमान सरकार आफ्नै स्वार्थपूर्तिमा केन्द्रित छ : ज्ञवाली

सुर्खेत, २७ असार ।

नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार आफ्नै स्वार्थमा केन्द्रीत भएको टिप्पणी गर्नु भएको छ।

आज नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै ज्ञवालीले अहिलेको सत्ता गठबन्धनको मुख्य सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको भन्दै टिप्पणी गर्नुभएको हो ।

उहाँले संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको उल्लेख गर्दै आफै नमिलेको गठबन्धनबाट जनताका समस्या समाधान नहुने जिकिर गर्नुभयो । सही विचार र सिद्धान्त बोकेको पार्टीले मात्रै देशलाई निकास दिन सक्ने भन्दै त्यसका लागि एमालेले प्रशिक्षणलाई जोड दिन लागेको बताउनुभयो ।

यस्तै, नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताउनुभयो । पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो नआएकाले त्यसलाई सुधार गर्न प्रशिक्षणका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले दशै जिल्लामा प्रशिक्षक तयार गरी एक बर्षभित्र प्रदेशका सबै कमिटिलाई प्रशिक्षण दिने उद्देश्य रहेको बताउनुभयो ।

सबै प्रदेशमा प्रशिक्षक प्रशिक्षण गर्ने एमाले केन्द्रीय स्कूल विभागको निर्णय अनुसार कर्णालीमा सबैभन्दा पहिले सुरु भएको र अब सातै प्रदेशमा यस्ता कार्यक्रम आयोजना हुने एमाललेले जनाएको छ । सुर्खेतमा आजदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम असार ३१ सम्म चल्ने छ ।