चाडपर्वको समयमा नियमित बजार अनुगनमा ध्यान दिन सरोकारवालाहरुको माग


सुर्खेत, २१ भदौ । वीरेन्द्रनगरमा चाडपर्वका समयमा मात्र बजार अनुगमन भईरहेको भन्दै अनुगनलाई बढाउन सरोकारवालाहरुले माग गरेका छन् ।
उजुरी जाँचबुझ तथा कारवाहि सम्वन्धी कार्यविधि, र स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण सम्वन्धि अनुगमन कार्ययोजना निर्माण सम्बन्धी आज वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा सरोकारवाहरुले यस्तो माग गरेका हुन् । स्थानीय तहमा वडाले समेत निगरानी बढाउनुपर्ने, कालोबजारी र अस्वस्थ्य खाद्यायान्न बिक्रि वितरणमा रोक लगाउनुपर्ने, नगरले खाद्य अधिकार लगायतका निर्देशिका पारित गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।
छलफल कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय बजारमा अखाद्य वस्तु धेरै मात्रामा विक्रि हुने गरेको, पसलपिच्छे सामानको मूल्य समेत फरक भएको बताउनुभयो । खाद्यान्न किन्दा अखाद्य समाग्री फेला पारेको अनुभव सुनाउदै उहाँले बजारका वस्तु तथा सेवालाई गुणस्तरिय बजार बनाउन अनुगमनमा ध्यान दिन वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गर्नुभयो । सार्वजनिक सेवा तीनै तहका सरकारको जिम्मेवारी भएकाले वस्तु तथा सेवा गुणस्तरिय बनाउन पालिकाले समेत अनुगमन गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
छलफल कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले स्थानीय सरकार नजिकको सरकार भएकाले बजारमा बिक्रि भईरहेका हरेक वस्तुको मूल्यमा नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो । बजार व्यवस्थापन गर्ने जिम्मेवारी सबैको भएको भन्दै उहाँले बजार अनुगमनमा सुर्खेत उद्योग वाणिज्य संघले सधै साथ दिन तयार रहेको बताउनुभयो । चाडपर्वमा मात्र नभई अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्छ भन्दै संघले पटक–पटक माग गरेपनि बजार अनुगमन नभएको उहाँले गुनासो गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजारमा बिक्रि हुने गरेको अखाद्य वस्तु अन्त्य गर्ने, वस्तु तथा सेवाको उचित मुल्य हुनुपर्ने, बजार गुणस्तरिय बनाउन पालिकाले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बजार व्यवस्थापन तर्फ वीरेन्द्रनगर नगरपालिकाले कार्ययोजना बनाएको र सरोकारवाला अन्य निकायले पनि पहल गर्नुपर्ने उहाँको भनाई थियो ।
अष्ट्रेलियन सरकार र द एशिया फाउण्डेशनको स्थानीय सरकार सवलिकरण कार्यक्रमको आर्थिक सहयोगमा, उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोगमा, वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।