गुनासा सुन्न र समाधान गर्न सधैँ तत्पर छौँ–अध्यक्ष जिसी


सुर्खेत, ५ असोज ।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले गाउँपालिकाले प्रदान गर्ने सेवासंग सम्बन्धित नागरिकका गुनासा सुन्न र समाधान गर्न सधैंँ तत्पर रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारको गुनासो सुनुवाई संयन्त्र हाम्रा कुरा हाम्रा मुख्यमन्त्री सम्बन्धी नागरिक समूह र स्थानीय सरकारबीच विहीबार गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष जिसीले यस्तो बताउनुभएको हो । अध्यक्ष जिसीले आफूहरु जनताका समस्या समाधानका लागि अनवरत रुपमा लागिरहेको र सल्लाह सुझावको सधैँ अपेक्षा गरिएको बताउनुभयो । यस्तै उपाध्यक्ष मिना कुमारी राेकायले जनमैत्री सेवा प्रवाह आफूहरुकाे पहिलाे प्राथमिकता रहेकाे भन्दै जनताका सुझावहरु सधैँ मनन गर्ने बताउनुभयाे । प्रमुख प्रशासकीय अधिकृत समिक्षा साेमैले सेवा प्रवाहसंग सम्बन्धित गुनासा भए कुनै अप्ठेराे नमानी पालिकामा राख्न सेवाग्राहीलाई आग्रह गर्नुभयाे । पारदर्शी, जवाफदेही एवं निष्पक्ष सेवा प्रवाहमा प्रतिवद्ध रहेकाे बताउनुभयाे । गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका ५ नं वडाका अध्यक्ष लालबहादुर जिसीले सेवाग्राहीहरुका सुझावका आधारमा सेवालाई परिमार्जन गर्दै लग्ने बताउनुभयाे । गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर थापाले हाल सेवाग्राहीका गुनासा आधिकारिक ढंगबाट नआएकाे र  आगामी दिनमा  गुनासा सुनुवाईका लागि प्रविधिमैत्री संरचनाकाे विकास गर्ने बताउनु भयाे । कार्यक्रममा सहकर्मी समाजका खड्ग प्रसाद शर्माले कर्णाली प्रदेश सरकारकाे हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रममा नागरिकहरुले सेवा प्रवाह र विकास निर्माणसंग विभिन्न विषयमा कार्यालयसंग जवाफ मागेका थिए भने विभिन्न शाखा प्रमुखहरुले त्यसको जवाफ दिएका थिए ।  कार्यक्रममा उठेका गुनासा समाधानका लागि विभिन्न चार बुँदे प्रतिवद्धता पनि गरिएकाे छ । वडा नं २ रहकुल सामुदायिक स्वास्थ्य इकाईमा नियमित स्वास्थ्यकर्मी खटाउने, महिला स्वास्थ्य स्वंसेविकाले गत आर्थिक बर्षमा भत्ता नपाउनुका कारण पत्ता लगाइ तत्काल वितरण गर्ने, चालु आर्थिक बर्षमा याेजना कार्यान्वयन गर्दा गठन गरिएका उपभाेक्ता समितिलाई सुरुमै अभिमूखीकरण गर्ने र गुनासाे सुनुवाईलाई प्रभावकारी बनाउन प्रविधिमैत्री संरचना निर्माण गर्ने प्रतिबद्धता गरिएकाे छ ।

कार्यक्रम सहकर्मी समाजको आयोजना, कर्णाली प्रदेश सरकार र यूएनडिपीको संयोजन तथा गुडअप्सन नेपालको सहजीकरणमा सम्पन्न भएको थियो ।