बराहतालमा सार्वजनिक सुनुवाई सम्पन्न

सुर्खेत, ८ असोज ।
नागरिकका गुनासा सुनुवाईका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रम अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा स्थानीय सरकार र नागरिक समूहबीच सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सहकर्मी समाजको आयोजना, कर्णाली प्रदेश सरकार र संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजन तथा गुडअप्सन नेपालको सहजीकरणमा आइतबार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा नागरिकहरुले गाउँपालिकाभित्र संचालन हुने यातायातका साधनहरुले मनपरी भाडा लिने गरेको, पशु शाखामा सामान्वय औषधि तथा कृषि शाखाबाट समयमा विउ विजन नपाएको,स्वास्थ्य संस्थामा निशुल्क पाइने औषधी नपाइएको, १५ शैय्या अस्पताल निर्माण सुरु नभएको, योजना छनौट गर्दा वस्तीस्तरमा नगई वडाले मनोमानी गरेको लगायतका गुनासा गरेका छन् । नागरिकका गुनासाको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन, निमित्त कार्यालय प्रमुख धर्मराज थापा, योजना तथा प्रशासन अधिकृत तथा सूचना अधिकारी राजिमान बुढा, वडा नं. ५ का अध्यक्ष धिमराज जोल्मी र वडा नं. ७ का अध्यक्ष कुलबहादुर बुचा मगरले जवाफ दिनुभएको थियो । कार्यक्रममा उठेका सवालका आधारमा मुख्य चार बुद्धालाइ लिखित प्रतिबद्धता गरिएको छ ।

गाउँपालिका भित्र संचालन हुने यातायातका साधनकाे भाडादरबुझी नियमित गर्ने, याेजना छनाैट गर्दा वस्तीस्तरदेखि नै ७ चरण पूरा गर्ने, स्वास्थ्य संस्थाबाट निशुल्क पाउने अाैषधी नियमित उपलब्ध गराउने, पशु शाखाबाट आैषधि तथा कृषि शाखाबाट बिउबिजन समयमै उपलब्ध गराउने, नागरिकका गुनासाे सुनुवाईका लागि गाउँपालिकामा उपयुक्त संयन्त्रकाे विकास गर्ने र बड्डीचाैरमा १५ शय्या अस्पताल तथा बड्डीचाैर खम्बागाडे सडक समयमै निर्माण सुरु गर्न पहल गर्ने प्रतिबद्धता गरिएकाे हाे ।
कार्यक्रममा सहकर्मी समाजका खड्ग प्रसाद शर्माले हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रमको गुनासो सुनुवाई संयन्त्रका बारेमा जानकारी दिँदै नागरिकका कुनै पनि समस्या भए १०९६ मा फोन गरेर जुनसुकै समयमा टिपाउन सकिने बताउनुभएको थियो ।