किशोर किशोरीलाई उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम


जागरण संवाददाता
सुर्खेत, २६ असोज ।
वीरेन्द्रनगर नगरपालिका वडा नं २ का किशोर किशोरीहरुलाई आधारभूत उद्घोषण सीप तथा पत्रकारिता तालिम दिइएको छ ।
बाल विवाह रोकथाम तथा व्यवस्थापनका लागि वडाका विभिन्न टोलमा गठन गरिएका किशोर किशोरी समूहमा आवद्ध किशोर किशोरीहरुलाई आवाज संस्था सुर्खेतले तालिम दिएको हो । असोज २४ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक माया थापा र गोविन्द खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिममा विभिन्न समूहबाट २० जना किशोर किशोरीको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुले आत्मबल बृद्धि भएको, विद्यालय र समूहका क्रियाकलापहरु समेटेर समाचार तयार पार्न सक्ने भएको र समूह, विद्यालय तथा टोलमा हुने कार्यक्रमहरुमा सहजीकरण गर्न सक्ने सीपको विकास भएको बताएका छन् ।


किशोर किशोरीहरुमा नेतृत्व विकास तथा सशक्तिकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आवाज संस्थाकी कार्यक्रम संयोजक संगीता वलीले जानकारी दिनुभयो ।
तालिमको प्रभावकारिता बारे संस्थाका अध्यक्ष इरादा गौतम, कार्यकारी निर्देशक पवित्रा शाही, वडा नं. २ का अध्यक्ष गजबहादुर बुढाले अनुगमन निरीक्षण गर्नुभएको थियो ।