नेपालको अवस्था संवेदनशील भएको भन्दै कोरिया चिन्तित

पुष १७ काठमाण्डौ । कोरियाले भाषा परीक्षासम्बन्धी उत्पन्न पछिल्लो विवाद र त्यसलाई लिएर शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।
नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकासचिव केवलप्रसाद भण्डारी सहितका अधिकारीहरुलाई भेटेका थिए । उनीहरुले कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत गराएका छन् ।
कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरुलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ । यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो ।
पछिल्लो विवादबारे संयुक्त प्राविधिक समूहमा छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा कोरियाली अधिकारीहरुको छ ।
कोरियासँग भएको श्रम समझदारीअनुसार श्रम सम्बन्धी समस्या र सवालबारे निर्णय गर्न सहसचिवस्तरको प्राविधिक समतिको बैठक बस्न सक्छ । नेपाली श्रमिकलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को कोटामा उच्च प्राथमिकता दिएको भन्दै कोरियाली अधिकारीहरुले १३ पुसको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सन् २०२३ को पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका ३१ हजार भन्दा बढीले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने माग गर्दै आन्दोलन गरेका थिए । यसक्रममा भएको झडपमा २ जना युवाको मृत्यु भएको थियो ।
यो घटनाले भाषा परीक्षाका सन्दर्भमा नेपाल संवेदनशील बन्दै गएको देखाएको भन्दै कोरियाली पक्षले समस्या क्रमसँग समाधान हुने बताएका छन् । प्रणाली र पूर्वाधारको सीमितताका कारण परीक्षामा सहभागी कम गराउनु परेको भन्दै कोरियाली पक्षले देखिएका समस्याहरु क्रमशः सल्टाउँदै जाने पनि बताएको छ ।
जवाफमा श्रम सचिव भण्डारीले कोरियाली पक्षलाई सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । कोरियाली सरकारसँगको जोडिएको मुद्दामा घटना हुन पुगेको भन्दै उहाँले अवस्थामा सामन्यउन्मु भइसकेकाले ढुक्क भएर नियमित काम गर्न सकिने बताउनुभयो ।