सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै


सुर्खेत, १७ पुस ।
सुर्खेतमा ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही पुस २० गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको कर्णाली प्रदेश भलिबल संघले व्यवस्थापन गरेको छ । प्रतियोगितामा सात वटै प्रदेशका साथै विभागिय एपिएफ क्लब, नेपाल पुलिस क्लब, र नेपाल आर्मी गरी दश वटा टिमको सहभागिता रहनेछ । लिगकम नकआउट विधिबाट खेलाइन खेलमा दुई समूहबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताबाट राष्ट्रिय टोलीको छनौट गरिने संघका केन्द्रीय कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो । यस्तै व्यवस्थापक कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले प्रतियोगिताको अधिकांस तयारी पूरा भएको जानकारी दिनुभयो । २०५५ साल पछि दोस्रो पटक राष्ट्रिय भलिबल प्रतियोगिता कर्णालीमा आयोजना गरिएको हुँदा विशेष रुपमा लिएको उहाँले बताउनुभयो । आगामी दशौँ राष्ट्रि खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने पूर्व सन्ध्यामा आयोजना गरिएको राष्ट्रिय भलिबल प्रतियोगिताले तयारीलाई समेत टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संघका कर्णाली प्रदेश उपाध्यष शेरबहादुर जिसीका अनुसार प्रतियोगिता वीरेन्द्रनगर ८ स्थित खुल्ला मञ्चमा हुने छ भने हेर्नका लागि दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । करिब ५५ लाख खर्च हुने आयोजकको अनुमान छ ।