कर्णाली प्रदेश सरकारले भूकम्पपछिको पुनर्निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने

फागुन २४,सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवम् विधि पालना गरी विपदबाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो ।
यसका लागि कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र पालिकाबीच तालिम सञ्चालन गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रूपमा उपयोग गरी अगाडि बढ्ने बताउनुभयो ।
जाजरकोटको छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका गरी पाँच वटा पालिकामा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र डकर्मीको तालिम सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।
हरेक पालिका तहबाट १२ जनाका दरले डकर्मीका लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णुप्रसाद कोइरालले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिइनेछ । तालिम सञ्चालनका लागि एक करोड ४६ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।