बजेट कार्यान्वयनमा जोड दिने नवनियुक्त मुख्यमन्त्री कंडेलको भनाई

सुर्खेत । कर्णाली सरकारका नव नियुक्त मुख्यमन्त्री यामलाल कंडेलले बजेट कार्यान्वयनमा जोड बताउनुभएको छ ।
मुख्यमन्त्री भएपछि प्रदेशसभा बैठकमा पहिलो पटक आज आफ्नो भनाई राख्दै कंडेलले विगतमा बजेट कार्यान्वयनको अवस्था कम्जोर रहकाले आफूले कार्यान्वयन हुने खालका योजना निर्माणलाई प्राथमिकता दिने बताउनुभएको हो । कर्णालीको विकासका लागि केन्द्रबाट आउने बजेट अप्रर्यात भएको र त्यही बजेट पनि कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्ने कंडेलले बताउनुभयो । प्रदेशसभा बैठकमा आफ्नो भनाई राख्नेक्रममा मुख्यमन्त्री कंडेलले प्रदेश सरकारको योजना छनौट र बजेट विनियोजनमा देखिएका कमी कम्जोरलाई पनि सुधार गर्ने बताउनुभएको छ । उहाँले विगतमा योजना छनौट गर्दा विवादित हुने गरेको प्रसंग उल्लेख गर्दै अब संस्थागत पद्धतीबाट माग भएका योजनामा मात्र बजेट विनियोजन गर्नुपर्ने जिकिर गर्नुभयो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल र सत्ता साझेदार दलका सांसदहरुले कर्णाली प्रदेशले अनुभवी नेतृत्व पाएको भन्दै कंडेलको नेतृत्वमा कर्णालीको विकास हुने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सचेतक हिक्मत विष्टले सरकारको सकारातमक कामलाई साथ सहयोग रहने बतायउनुभयो । उहाँले अबको नयाँ सरकारले कर्णालीलाई गति प्रदान गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, नेकपा माओवादी केन्द्रका सचेतक रण सिं परियारले नयाँ सरकार र नवनियुक्त मुख्यमन्त्रीलाई आफ्नो दलको तर्फबाट पूर्ण साथ रहने बताउनुभएको छ ।
केन्द्रीय सत्ता गठबन्धनको आएको फेरवदलका आधारमा कर्णालीमा पनि नयाँ सरकार बनेपछि कंडेलले बुधबार मुख्यमन्त्रीको पदभार सम्हाल्नुभएको हो ।