सुर्खेत, २ चैत (जागरण) । कर्मचारी सञ्चय कोषले सुर्खेतको चौकुनेमा निर्माण हुने ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना बनाउन रुपैयाँ संकलन गरेको छ । कोषले गत दुई आर्थिक वर्षको नाफाबाट दुई अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको हो ।
कोषले आर्थिक वर्ष २०७३÷०७४ को खुद मुनाफा एक अर्ब ८९ बाट ८१ प्रतिशत अर्थात् एक अर्ब ५३ करोड रुपैयाँ कर्मचारी सञ्चयकर्ताका नामबाट बेतन कर्णालीमा सेयर लगानी गरेको छ ।
कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका नाममा सेयर लगानीका रूपमा यस्तो नाफा प्रयोग गरेको छ ।
लगानी कोषले अघिल्लो आर्थिक वर्षको एक अर्ब ५८ करोड रुपैयाँबाट ८० प्रतिशत अर्थात् एक अर्ब २९ करोड रुपैयाँ आयोजना बनाउन शेयरकै रूपमा लगानी गरेको छ ।
कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशासक दीपक रौनियारका अनुसार यस्तो लगानी दुई आर्थिक वर्षमा गरेर जम्मा दुई अर्ब ८२ करोड रुपैयाँ पुगिसकेको छ ।
कोषले आफ्ना सञ्चयकर्तालाई गत आर्थिक वर्षमा सुरु सञ्चय कोष मौज्दातको शुन्य दशमलव ७,५ प्रतिशतका दरले नाफा वितरण गरेको थियो भने अघिल्लो वर्ष यस्तो मुनाफा शुन्य दशमलव ६,५ प्रतिशत वितरण भएको उल्लेख छ ।
यो नाफा सञ्चयकतालाई नगदमा फिर्ता नगरेर बेतन कर्णालीमा सेयरका रूपमा लगानी गरेको कोषले जानकारी दिएको छ ।
कोषले जम्मा पारेको दुई अर्ब ८२ करोड रुपैयाँमध्ये हालसम्म आठ करोड रुपैयाँ मात्रै लगानी भइसकेको रौनियारले जानकारी दिनुभयो ।