भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्छः प्रदेश प्रमुख जोशी


माघ २९, सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार’ भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित आयोगको ३५औँ स्थापना दिवस समारोहमा उनले त्यस्तो बताउनुभएको हो ।
प्रदेश प्रमुख जोशीले भ्रष्टाचार निवारण गर्ने उद्देश्यले स्थापित आयोगले फड्को मार्न नसकेको टिप्पणी गर्दै सूचाङ्कले देश अगाडिभन्दा पछाडि नै जानुले मुलुकको अवस्था चिन्ताजनक रहेको देखाएको बताउनुभयो ।
कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मुलुकको सुशासन र भ्रष्टाचार निवारणमा आयोग एक्लैको भूमिका पर्याप्त नरहेको भन्दै यसका लागि राजनीतिकर्मी, कर्मचारीका साथै नागरिकको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदेश सचिवलगायत कर्णालीमा कार्यरत समग्र कर्मचारीलाई प्रगतिसहितको खर्चमा सुधार ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो ।
आयोगका सुर्खेत कार्यालय प्रमुख श्रीराम ठाकुरले पर्याप्त अध्ययन नगरी बजेट विनियोजन गर्ने प्रवृत्तिले पनि बेथिति मौलाएको बताउनुभयो ।
दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेबापत आयोग सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत धर्मराज बुढा र जनकलाल चौधरीलाई ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ प्रदान गरिएको छ ।
यसै गरी, ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल सुर्खेत वीरेन्द्रनगरस्थित क्रमशः श्री जनसेवा मावि घुस्रामा अध्ययनरत छात्रा रेश्मीकुमारी खड्का, नेपाल राष्ट्रिय मावि गाग्रेतालका छात्रा रेखा कठायत र श्री त्रिपुरेश्वर मावि ढोडेखालीका छात्र कुशल उपाध्याय पनि पुरस्कृत भएका छन् ।