चुहिन थाले संसद र मन्त्रालय भवन, पानी पर्दा जोगिएर बस्नुपर्ने

सुर्खेत, २६ साउन (जागरण) । कर्णाली प्रदेशको संसद वैठक बस्दै आएको हलमा पानी चुहिन थालेको छ । वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको हलमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको संसद भवनमा पानी चुहिन थालेको हो ।
आकाशबाट पानी पर्ने बित्तिकै चुहिन थालेपछि सांसदहरु वैठकमा जोगिएर बस्नुपर्ने बाध्यता सिर्जना भएको हो ।
गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुँदा र घर पुरानो हुँदै जाँदा यस्तो भएको सभामुख राजबहादुर शाहीले बताउनुभयो ।
अहिले शैक्षिक तालीम केन्द्रमा स्थायी रुपमा संसद भवन निर्माणको काम भइरहेको छ । साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेको सभामुख शाहीले बतउानुभयो ।
अब दुई महिनापछि शैक्षिक तालीम केन्द्रमा संसद वैठक बस्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँसराइ गर्नुपर्ने बाध्यता आइलागेको छ ।
त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताउनुभयो ।