जसले एक अनमाेलकाे मृत्युले हजारौँ अनमोल बचाउने साहस राखे

सुर्खेत, १९ वैशाख (जागरण) ।
यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रंग चाहिए
मेरा देशका गुराँसहरु सापटी माग्न आउनु
तर यो कुरा चाहिँ पछि नै गरौँला कि
मैले खाने चामलको रंग किन्न
म आफु चाहिँ अरबमा आएको छु
यो संसारको कुनै महान परोपकारीलाई
यो पृथ्वीभरीको फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशका नदीहरुसँग सापटी माग्नु
म त नदीहरुको देशको मान्छे
तर यो कुरा चाहिँ पछि गरौँला कि
मेरो छोराको घिट घिट गरिरहेको घाँटीलाई चाहिने
दुई थोपा औषधी किन्न
म आफु चाहिँ अरब आएकाे छु
कवि नवराज पराजुलीको सगरमाथाको गहिराई शीर्षक कविताको केही अंश हो यो । कर्णालीका वेदनालाई कवितामार्फत प्रस्फुटन गरी आफूले पाएको ऋण तिर्न सुर्खेत आईपुग्नुभएका कवि पराजुलीले कर्णाली कविता कन्सर्टमा वाचन गर्नुभएका यस्ता धेरै कविताले त्यहाँ रहेका धेरै दर्शकका आँखा रसाएका थिए ।
उहाँले वाचन गर्नुभएको सगरमाथाको गहिराई, च्याउ, रुख, मैझारो, हेप्पी वर्थ डे लगायत शीर्षकमा वाचन गर्नुभएको थियो । बोल्न नसकेकाहरुको आवाज वुलंद गराउन सक्ने क्षमता उहाँका कवितामा हुन्छन् । साँच्चिकै ध्यानमग्न हुने गरी सुनिरहेका थिए उहाँका कविता सबैले । यो कविता कन्सर्ट रमाईलो र आनन्दका लागि मात्रै थिएन । अनमोल स्मृति प्रतिष्ठानले अनमोल एम्बुलेन्स संचालनार्थ आयोजना गरेको कार्यक्रम थियो । जसका माध्ययमबाट सहयोगी हातहरु खोजिएको थियो जस्ले एम्बुलेन्स संचालनका लागि केही रकम सहयोग गर्न सकुन् । सुर्खेत र कालिकोटमा एम्बुलेन्स संचालन गर्नका लागि रकम संकलन गर्न वीरेन्द्रनगरमा कर्णाली कविता कन्सर्ट गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका स्वर्गीय अनमोलका बुवा निराजन शाहीलाई आफ्नो एउटा छोरा गुमाएको पिडाले हजारौँ छोरा बचाउने साहस दियो । आफ्नो छोरालाई उपचार गर्न लैजानका लागि एम्बुलेन्सकै खोजीमा तीन घण्टासम्म भौतारिँदा छोरालाई सदाका लागि गुमाउनुपरेको पिडाले नै शाहीले यो आँट जुटाउनुभयो । आफ्नो अनमोल छोराजस्तै अरु कोही अनमालेको पनि विरामीले छट्पटिँदै छट्पटिँदै मृत्यु नहोस् भन्ने सोच राखेर उहाँ अब एम्बुलेन्स संचालन गर्ने योजनामा हुनुहुन्छ । उहाँले छोराको स्मृतिमा नै कालिकोट र सुर्खेतमा एम्बुलेन्स संचालन गर्ने अठोट राख्नुभएको हो ।
शाहीले महिला र बालबालिकाका लागि सकेसम्म शतप्रतिशत छुटमा र अन्यलाई ५० प्रतिशत छुटमा सेवा दिने गरी आगामी फागुन १९ गतेदेखि एम्बुलेन्स संचालनमा ल्याउने उद्घोष गर्नुभएको छ ।
सोही कर्णाली कविता कन्सर्टमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली भोकमरी, पीडा, समस्या जस्ताको पात्र भएकाले अनमोल स्मृति प्रतिष्ठानका जस्तै परोपकारी कार्य गर्न सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । सरकारको साथ सधैँ रहने उहाँको भनाई थियो ।
कार्यक्रममा कवि पराजुलीको कविता वाचनसँगै बरिष्ठ कलाकार प्रेमदेव गिरीको मादलको ताल, ज्ञानबहादुर नेपालीको बाँसुरीको धुन, मनु मन्दिर अन्य कलाकारहरुको नृत्यले पनि दर्शकहरुलाई ध्यानमग्न बनाएको थियो ।

तस्वीरः शाहीकाे फेसबुक पेजबाट ।