पुस्ता फरक-स्वर एउटैः ‘हानिकारक प्रथा परिवर्तन गर्नैपर्छ’

सुर्खेत, ६ साउन (जागरण) । कर्णाली प्रदेशका अघिल्लो र पछिल्लो पुस्ताले एकै स्वरमा परम्परागत रुपमा पालना गरिने हानिकारक प्रथा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
युवा–विद्यार्थी, अधवैँशे र ज्येष्ट नागरिकहरुले एकै साथ हानिकारक र विभेदकारी सवै प्रथा र परम्पराकै कारण कर्णाली पछि परेको बताएका हुन् ।
‘न्यायका लागि आवाज विस्तार परियोजना’ ले गरेको अन्तरपुस्ता संवाद कार्यक्रममा सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
विशेषगरी महिला र पुरुषबीचको विभेद बालबालिका हुर्काउने समयदेखि नै हुने गरेकाले यस्ता विभेदबाट समाजलाई मुक्त गर्नुपर्ने उनीहरुले बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा युएन वुमनको आर्थिक सहयोगमा स्टोरी किचन र इक्वेल एक्सेसले आयोजना गरेको कार्यक्रममा
समाजमा परम्परादेखि नै जगल्टिएको छाउपडी प्रथा, महिला र पुरुषमा हुने भेदभाव, लैङ्गिक हिंसा तथा बालविवाहका बिषयमा संवाद भएको छ ।
ज्योतिष पण्डित शंकर उपाध्यायले कुनै पनि शास्त्रले जात जात तथा महिला, पुरुष र समलिङ्गी तेस्रो लिङ्गबीच विभेद नगरेको बताउँदै यी सवै कसैको स्वार्थका आधारमा तयार पारिएका बताउनुभयो ।
कार्यक्रममा सहभागी भएकाहरुले आफ्नो जीवनमा भएका भोगाई अनुभव व्यक्त गरेका छन् ।
कार्यक्रममा अधिवक्ता रमा प्याकुरेलले पटक पटक महिलामाथि यौन शोषण हुने तर महिलाले कानूनी बाटो अपनाउन अप्ठ्यारो मान्ने गरेको बताउनुभयो ।
यस्तै समलिङ्गी तेस्रोलिङ्गीको क्षेत्रमा कार्यरत अनु विसीले समलिङ्गी तेस्रोलिङ्गीलाई समाजका प्रायः नागरिकले सम्मानजनक रुपमा नहेर्ने गरेको बताउनुभएको छ । अन्तरपुस्ता संवाद भोली सम्म हुनेछ ।