आगलागीमा १९ घर जलेर नष्ट

मुगु, २० वैशाख (जागरण) । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको वडा नम्बर–४, मा पर्ने किम्री गाउँमा आगलागी हुँदा १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
गाउँपालिकाका वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरी फैलिँदा १९ घर जलेर ध्वस्त भएको स्थानीयबासिन्दा पेमा ठिल्ने लामाले बताउनुभएको छ ।
विहीबार बिहान ९ बजे सुरु भएको आगलागी नियन्त्रणमा दिउँसो ३ बजेमात्र आएको स्थानीय नागरिकले जानकारी दिएका छन । घटनास्थलदेखि ३ घण्टा टाढाको पुलु प्रहरी चौकीबाट प्रहरीको टोली ११ बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।
आगलागी हुँदा मुगुम कार्मारोङ्ग गाँउपालिका–४, का छिरिङ्ग टासी लामा , फोञ्जोक लामा, आङ्गडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फूर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, ग्याल्बो लामा, अङ्गजक लामा, जिक्टोल लामा, गारा छिरिङ्ग लामा र एक नाम नखुलेकाको आगलागीमा घर जलेर नष्ट भएको हो ।
आगलागी हुँदा कुनै पनि व्यक्तिले घरको कुनै किसिमको सामान बाहिर ल्याउन नपाउँदा १९ घरका १ सयभन्दा बढी परिवारको बिचल्ली भएको पीडतका आफन्त गुरु स्याग्याप लामाले बताउनुभयो ।
घटनास्थल सदरमुकाम गमगढीबाट साढे एक दिन टाढा भएको र त्यस स्थानमा सञ्चार सम्र्पक नहुँदा के कति क्षति भयो भन्नेबारे जानकारी नआएको भए पनि प्रहरी घटना स्थलमा पुगिसकेको छ ।
तत्काल राहतका र उद्धारका लागि प्रदेश सरकार गृह मन्त्रालयसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत राहत र दैवीप्रकोप तालिम प्राप्त नेपाली सेनालाई परिचालन गरी पीडितको उद्धार गर्न नेपाली सेनासँग समन्वय गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
घटनास्थल सदरमुकाम गमगढीदेखि झण्डै ३ दिनको पैदल दूरीमा रहेको छ ।